वीरगंज महानगर–१४ गण्डक बहुअरी निवासी इर्शाद अन्सारीले आफूमाथि आर्थिक अन्याय गरेको सोही ठाउँ निवासी राजबुन खातुनले आरोप लगाएकी छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले इर्शादले विभिन्न व्यक्तिहरूको नाममा रहेको जग्गा आफू र आप्mना पति करीम मियाँको नाममा राखेको र सो जग्गा विभिन्न बैंकमा राखी ऋण लिएको र अहिले आफूलाई फसाएको बताइन् ।
उनले इर्शादले आफू र पतिसँग सादा चेक लिएको र सो चेक विभिन्न व्यक्तिहरूलाई दिएर रकम असुली गरेको र अहिले आफूहरू चेक अनादर मुद्दामा दुःख झेल्नुपरिरहेको बताइन्।
उनले इर्शादको माध्यमबाट पर्सागढी नगरपालिकाको मनवामा २२ कट्ठा, बडनिहारमा १८ कट्ठा, वीरगंज महानगरपालिकाको जगरनाथपुरमा डेढ कट्ठा, मनियारीको आठ कट्ठा जग्गा गरी साढे ४९ कट्ठा जग्गा आप्mनो नाममा गरेको र ती जग्गालाई कुमारी र एनआइसी एशिया बैंकमा राखेर ऋण लिएको र ती बैंकका सादा चेक आफूसँग लिएर विभिन्न व्यक्तिहरूलाई दिएको आरोप लगाइन् ।
चेक अनादर मुद्दामा पति करीमलाई यस अघि पुर्पक्षको लागि वीरगंज कारागारमा राखिएको र पछि मिटरब्याजसम्बन्धी मुद्दामा जिल्ला प्रहरीमा सहमति समझदारी हुँदा १० लाख रुपैयाँ तिरेर रिहा गरेको बताइन् ।
उनले सोही कार्यालयमा सहमति हुँदा सुनील पाण्डे भन्ने व्यक्तिमार्फत एक थान सादा चेक फिर्ता लिएको र उही व्यक्तिले अहिले रु ३७ लाखको चेक अनादर मुद्दा दिएर पुनः पतिलाई कारागारमा पठाएको बताइन् ।
उनले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको मिटरब्याज शाखामा भन्दा सुनवाइ नभएको र पूर्वसहमति, सम्झौतापत्रहरू गायब गरिएको आरोप लगाइन् ।
पत्रकार सम्मेलनमा इर्शादबाट पीडित वीरगंज–१८ इनर्वा मनियारी निवासी ६० वर्षीय रामप्रसाद कुर्मीले आफूलाई हृदयघात भएपछि उपचारको लागि इर्शादसँग १० लाख लिएर दुई कट्ठा आठ धुर जग्गा दिएको बताए ।
उनले आप्mनो नामको जग्गा इर्शादले राजबुन खातुनको नाममा गराएको र पछि सोही जग्गा राजबुन खातुनबाट भगवान सिंहको नाममा दृष्टिबन्धक गराएको बताए ।
दुई करोड थैली राखेर दृष्टिबन्धक गरेको हुँदा आपूm मर्कामा परेको उनले बताए । १० लाख ऋण लिएको र दुई करोडको चपेटमा पारेको भन्दै उनले न्याय हुनुपर्ने माग गरेका छन् ।
गाउँमा पञ्चायती भएपछि इर्शादले ५० लाख र १५ लाखका दुईवटा चेक दिएको तर निजको खाता रित्तो रहेको र प्रहरीमा उजूरी गर्दा सुनवाइ नगरेको आरोप लगाए । उनले प्रहरीले कमिशन माग गरेको र आप्mनो कुरा नसुनेको गुनासो गरे ।
प्रहरीले मिटरब्याजमा मुद्दा दर्ता गरेको छ तर महीना बितिसक्दा पनि सुनवाइ नभएको उनीहरूले गुनासो गरे । मिटरब्याज शाखामा जाँदा प्रहरीले भगाउने र यहाँबाट केही हुँदैन, अदालत जान भनेको कुर्मी र खातुनले आरोप लगाए ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गतको मिटरब्याज शाखाका प्रहरी नायब निरीक्षक रामप्रवेश भारतीले यो घटनामा जिल्ला प्रशासन कार्यालय, पर्सामा सहमति भएको हुन सक्ने बताए । जिल्ला प्रहरीमा भने पीडक भनिएकामध्ये एकाधजना आउने गरेको र यससम्बन्धी फाइलको आफूले गहन अध्ययन गर्न नसकेको बताए ।