वीरगञ्ज : कलवार कल्याण समिति, आदर्शनगर, वीरगञ्जको आयोजनामा २६औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष शम्भु प्रसाद कलवारको अध्यक्षता तथा प्रमुख अतिथि शिवजी प्रसाद कलवारको आतिथ्यमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा स्वागत नृत्य नवदिप एकेडेमीका विद्यार्थीहरु द्वारा गरिएको थियोे।उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा कृष्ण कुमार गुप्ता, वृजकिशोर प्रसाद, विश्वामित्र प्रसाद कलवार, भोला प्रसाद कलवार, बिरेन्द्र कुमार तथा अमिरिलाल प्रसाद कलवार लगायत कार्यसमिति सदस्य एवं पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात प्रमुख अतिथि तथा पदाधिकारीहरूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
कार्यक्रममा समितिले पर्सा जिल्लाभित्र बसोबास गर्ने कलवार समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक वर्ष २०८२ (बैशाखदेखि चैतसम्म) मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र-छात्राहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको जनाएको छ।
समितिका अनुसार S.E.E., कक्षा १२, स्नातक, स्नातकोत्तर (मास्टर्स) तथा पि.एच.डी. तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र तथा सम्मान प्रदान गरिएको थियो। यसैगरी S.E.E. मा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने व्यवस्था समेत गरिएको जानकारी दिइएको छ।कार्यक्रम संचालन कलवार कल्याण समिति वीरगञ्जका सचीव श्याम गुप्ताले गरेका थिए।
समितिले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।