मुम्बई- बलिउड अभिनेत्री शेफाली जरीवालाको दुखद निधन भएको छ । ४२ वर्षको उमेरमा शुक्रवार राति कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
एकताकाको बहुचर्चित गीत काँटा लगामा अभिनय तथा नृत्य गरेर उनी दर्शकमाझ लोकप्रिय भएकी थिइन् ।
रिपोर्टहरूका अनुसार उनलाई कार्डियक अरेस्ट (हार्ट अट्याक) भएको थियो र पछि उनको निधन पुष्टि गरिएको हो ।
शेफालीका श्रीमान् पराग त्यागीले उनलाई तुरुन्तै अस्पताल लगेर भेन्टिलेटरमा राख्न खोजेका थिए, तर उपचारको क्रममा उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनको शव पोस्टमार्टमका लागि कूपर अस्पताल, मुम्बई पठाइएको छ ।
शेफाली जरीवाला १५ डिसेम्बर १९८२ मा गुजरात, अहमदाबादमा जन्मिएकी हुन् । उनले भारतीय टेलिभिजन तथा फिल्म क्षेत्रमा आफ्नो ग्ल्यामरस छविका कारण ‘काँटा लगा गर्ल’ उपनाम प्राप्त गरेकी थिइन् ।
उनले २००२ मा रिमिक्स गीत ‘काँटा लगा’ को म्युजिक भिडियोमा अभिनय गरेपछि लोकप्रियता हासिल गरेकी थिइन् । त्यसपछि उनले बिग बोस १३, नच बलिए ५ तथा ७ तथा फिल्म ‘मुझसे शादी करोगी’ जस्ता प्रोजेक्टहरूमा काम गरेकी थिइन् ।
अधिकांशले उनको निधनको खबरप्रति विश्वास नै गरिरहेका छैनन् । यद्यपि, अस्पतालले नै उनको निधनको पुष्टि गरिसकेको छ । शेफालीले केही दिनअघि मात्र जीवनलाई लिएर सकारात्मक कुरा पोस्ट गरेकी थिइन् । उनले लेखेकी थिइन्- ‘अब समय आएको छ जीवन जिउने ।’ शेफालीले सायदै कल्पना गरेकी होला, उनले जीवनबारे लेखेका ती शब्दहरू यति चाँडै अन्तिम साबित हुनेछन् ।
तीन दिनअघि मात्र शेफालीले केही सुन्दर तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्, जसमा उनी विभिन्न पोजमा देखिएकी थिइन् । अब त्यही पोस्टमा फ्यानहरू लगातार कमेन्ट गरिरहेका छन् ।
रिपोर्टअनुसार, उनलाई मुम्बईको अंधेरीस्थित बेलेव्यू मल्टिस्पेशालिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
उनको निधनपछि सिलसिलाबद्ध रूपमा मनोरञ्जन उद्योग र प्रशंसकहरूमा शोकको लहर चलेको छ ।