ठोरी, पर्सा — सामाजिक सेवा र मानवताका लागि निरन्तर क्रियाशील उपकार सेवा नेपालले असार महिनामा पनि आफ्नो नियमित सहयोग कार्यक्रम अन्तर्गत ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमाबुवा तथा बालबालिकाका लागि आवश्यक दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।
संस्थाले यस महिनामा आश्रममा आश्रित १७ जना सेवाग्राहीहरूको लागि चामल ७५ किलो (३ बोरा), स्वाबिन १० किलो (१ बोरा), चिउरा १३ किलो, खाने तेल ५ लिटर, चिनी ५ किलो, मिठाइ ४ किलो, नुहाउने साबुन १२ पिस, लुगा धुने साबुन १२ पिस, धुलो खुर्सानी, बेसार, धनियाँ, जिरा जनही १ प्याकेट, नून १० किलो लगायत अन्य दैनिक उपभोग्य सामग्रीको व्यवस्था गरेको समाजसेवी प्रकाश थारूले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रम आश्रमका प्रतिनिधि राम बहादुर थिङलाई बोलाई विशेष कार्यक्रममार्फत् सम्पन्न गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले सामग्रीहरू थिङलाई हस्तान्तरण गरे।
उपकार सेवा नेपालले यस्ता सहयोग कार्यक्रम हरेक महिनामा निरन्तर सञ्चालन गर्दै आइरहेको छ। संस्थाले वृद्ध–वृद्धा तथा असहाय नागरिकहरूलाई सम्मान र माया दिई समाजमा सकारात्मक सन्देश फैलाउने कार्य गरिरहेको स्थानीयबासीले प्रशंसा गरेका छन्।