वीरगंज / सामाजिक सेवामा एक दशकदेखि सक्रिय संस्था ‘इम्प्रूविंग बीरगंज’ ले शुक्रवार साँझ पुनः ‘रोटी बैंक’ परियोजनाको शुभारम्भ गरेको छ।
भोकमरी विरुद्धको अभियानस्वरूप, गरीब, असहाय र सडकमा बसोबास गर्ने व्यक्तिहरूलाई निःशुल्क खाना उपलब्ध गराउने उद्देश्यले यो अभियान नयाँ जोशका साथ पुनः सुरु गरिएको हो।
सो कार्यक्रम शुक्रवार साँझ ८ बजे वीरगंजको माइस्थान मन्दिर परिसरबाट सुरु भई बजार क्षेत्रका असहाय नागरिकलाई खाना वितरण गरी सम्पन्न भएको थियो।
‘कोही पनि भोकै न सुतून्’ भन्ने मूल नाराका साथ अघि बढेको रोटी बैंकले समुदायको सहकार्य र जनसहभागिता मार्फत निरन्तर सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शरण गुप्ताले अभियानको नेतृत्व गर्दै पुनः सुरु भएको यो सेवामूलक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे। रोटी बैंकका संयोजक ओशन गुप्ताले नियमित रूपमा निर्धन र असहायहरूका लागि खाना वितरण गरिने जानकारी दिए।
कार्यक्रममा नरेश जैन, अभिषेक गुप्ता, निखिल, गोविन्द कुमार, हिमांशु कुमार, दीपक कुमार, आकाश कुमार लगायतका सामाजिक कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।