वीरगंज/ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ फरदवा स्थित आधारभूत अस्पताल नजिक रहेको ऐलानी जग्गामा अवैध रूपमा लगाइएको गाँजा तथा अफिमका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ।
गत मंगलबार अवैध लागुऔषध खेती भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले छानबिन गर्दा तीनवटा छुट्टाछुट्टै स्थानमा ठूलो मात्रामा गाँजा र अफिम खेती गरिएको भेटिएको हो।
वडा नं. ४ फरदवास्थित आधारभूत अस्पताल नजिकको ३.५ कठ्ठा ऐलानी जग्गामा करिब २,५०० बोट अफिम,
सोही स्थान नजिकैको ५ कठ्ठा ऐलानी जग्गामा करिब २,००० बोट गाँजा,
वडा नं. ५ देउरिया गाउँको पूर्वतर्फ रहेको ५ कठ्ठा ऐलानी जग्गामा करिब ३,००० बोट गाँजा फेला परेको थियो।
तीनै स्थान गरी जम्मा १३.५ कठ्ठा ऐलानी जग्गामा रोपिएका ५,००० बोट गाँजा र २,५०० बोट अफिम प्रहरीले फडानी गरी नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार अवैध लागुऔषध खेतीविरुद्ध निगरानी थप कडा बनाइएको छ र यस्ता गैरकानुनी कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।