मिथिलाको १५ दिने मिथिला मध्यमा परिक्रमा सोमवारदेखि विधिवत् रुपमा सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र वैदिक मन्त्रोच्चारणसहित डोला निकालिएसँगै यस वर्षको परिक्रमा औपचारिक रुपमा शुरु भएको हो ।
डोला प्रस्थान समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, साधुसन्त, विभिन्न मठमन्दिरका महन्त तथा हजारौँ श्रद्धालु सहभागी भएका थिए । ‘जय सियाराम’को उद्घाोषबीच डोला मन्दिरबाट बाहिर निकालिएको थियो । मिथिलाबिहारी मन्दिरबाट निस्केको डोला परम्परा अनुसार आइतवार सांझ नै हनुमाननगरस्थित हनुमान गढी पुगेका छन् ।
हनुमान गढीबाट डोला उठेपछि परिक्रमाको दिन गिन्ती हुने परम्परा रहेको छ । १५ दिने पैदल धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्नेछ । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । कचुरीबाट निस्केको टोली पहिलो दिन साँझ जनकपुरधामस्थित हनुमानगढीमा पुगेर विश्राम गर्ने गर्छ । त्यसपछि जनकपुरधामको सुन्दर सदन मन्दिर बाट किशोरीजी र रामजानकीसहित अन्य मन्दिरका डोलाहरू पनि समाहित गरिन्छन् । हनुमानगढीबाट विधिवत् पूजा–अर्चनापछि मुख्य परिक्रमा अगाडि बढ्ने परम्परा रहेको छ ।
दोश्रो दिन ५ गते मंगलवार कल्याणेश्वर, तेश्रो दिन ६ गते गिरिजास्थान, चौथो दिन ७ गते मटिहानी, पांचौ दिन ८ गते जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन १८ गते जनकपुरधाम आई पुग्नेछ । अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमामा परिणत हुनेछ ।
अन्तगृह परिक्रमा अन्तर्गत जनकपुरधाम नगर क्षेत्रको ५ कोस अर्थात साढे सात किलोमीटर दूरी तय गर्नेछ । पांच कोस यात्रा तय गर्ने भएकाले यस अन्तरगृह परिक्रमालाई पंचकोसी परिक्रमा समेत भन्ने गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
इतिहासकारहरूका अनुसार अठारौँ शताब्दीदेखि मिथिला मध्यमा परिक्रमा प्रारम्भ भएको मानिन्छ ।
मिथिलाको धार्मिक भूगोललाई परिक्रमा गरेर भगवान रामसीताको पदचिह्न पछ् याउने विश्वासका साथ यो यात्रा गरिन्छ । मिथिलाञ्चलका धार्मिक अगुवाहरूका अनुसार मन, वचन र कर्मले परिक्रमा गरेमा पाप नष्ट भई मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ । यही आस्थाले वर्षेनि हजारौँ श्रद्धालुहरू सहभागी हुने गरेका छन् ।
परिक्रमाले नेपाल–भारतबीचको प्राचीन सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ । सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले श्रद्धालुहरूलाई निःशुल्क भोजन, पानी र आवासको व्यवस्था गर्दै आएका छन् । यसले सामाजिक सद्भाव र सहकार्यको सन्देशसमेत प्रवाह गर्छ । धार्मिक पर्यटनको दृष्टिले समेत परिक्रमा महत्वपूर्ण मानिन्छ । होटल, यातायात, खाद्य व्यवसाय र स्थानीय हस्तकलामा यस अवधिमा चहलपहल बढ्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
अयोध्या हवाई उडान गर्ने : मुख्यमन्त्री
यसैबीच डोला शुभारम्भ कार्यक्रममा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई भारतको उत्तर प्रदेशस्थित अयोध्यासँग हवाइमार्गमार्फत जोड्न पहल गर्ने घोषणा गरेका छन् ।
धनुषाको कचुरीस्थित मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गर्दै उनले जनकपुरधाम–अयोध्या सीधा उडान सञ्चालनका लागि भारत सरकारसँग समेत संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री यादवले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक महत्वका आधारमा रामायण सर्किटसँग प्रभावकारी रूपमा जोड्न सके मधेश प्रदेश समग्रमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।
पहिलो पटक मिथिला मध्यमा परिक्रमामा सहभागी हुन पाएकोमा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै मुख्यमन्त्री यादवले धार्मिक–सांस्कृतिक कार्यक्रमहरूले प्रदेशको पहिचान र अर्थतन्त्र दुवैलाई सुदृढ बनाउने धारणा राखे । जनकपुरधाम–अयोध्या हवाइमार्ग सञ्चालन भएमा तीर्थयात्री र पर्यटक आगमनमा वृद्धि भई होटल, यातायात र सेवा क्षेत्र समेत प्रत्यक्ष लाभान्वित हुने विश्वास छ ।