वीरगञ्ज । हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक बुधबार वीरगन्जको ऐतिहासिक माईस्थानमा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण र आगामी हनुमान जयन्तीलाई भव्य बनाउने विषयमा रणनीतिक निर्णयहरू गरेको छ।
बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा सांसदहरूको क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला र धार्मिक स्थलहरूको वर्तमान अवस्था, ती सम्पदाको संरक्षणमा जनप्रतिनिधिको भूमिका र आगामी योजनाबारे विस्तृत छलफल गरिने सचिव राज सराफले जानकारी दिनुभयो।
आसन्न हनुमान जयन्तीलाई वीरगन्जमा ऐतिहासिक र भव्य रूपमा मनाउन जनसहभागिता जुटाउने उद्देश्यले संघले व्यापक प्रचार–प्रसार गर्ने निर्णय गरेको छ। यसका लागि हिन्दुवादी संघ–संस्था र धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइने अध्यक्ष रौनियारले बताउनुभयो।
बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साह लगायतको उपस्थिति रहेको थियो।
बैठकले धार्मिक र सांस्कृतिक पहिचान जोगाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकाल्दै, स्थानीय तहमा रहेका ओझेलमा परेका धार्मिक र पर्यटकीय स्थलहरूको खोजी र प्रचारमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ।