वीरगंज - मधेस प्रदेशका आठ जिल्लामा तोकिएका २ हजार १ सय ६० मतदानस्थलमध्ये १ हजार २ सय ३६ अर्थात् करिब ५८ प्रतिशत मतदानस्थललाई अति संवेदनशील वर्गमा राखिएको छ। निर्वाचन आयोगले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा ७ सय ६३ स्थललाई संवेदनशील र बाँकीलाई सामान्य सूचीमा वर्गीकरण गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
भारतसँग ३ सय ६७ किलोमिटर खुला सीमा जोडिएका आठ जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र छन्। अति संवेदनशील सूचीमा सप्तरी सबैभन्दा अगाडि छ भने त्यसपछि सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा पर्दछन्। मधेसका ३२ निर्वाचन क्षेत्रमा ३५ लाखभन्दा बढी मतदाता छन्।
विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप, राजनीतिक विवाद, खुला सीमा र पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जित सुरक्षा अवस्थाका कारण जोखिम बढेको सुरक्षा निकायको आकलन छ। २४ भदौमा लुटिएका हतियार र फरार व्यक्तिहरू पूर्ण नियन्त्रणमा नआएकाले निर्वाचन बिथोलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसपालि मधेसमा शीर्ष नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएकाले पनि सुरक्षा चुनौती बढेको बताइन्छ। सुरक्षा व्यवस्थापनका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायको संयुक्त गस्ती तीव्र पारिएको छ। सिमानामा कडाइ गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ।
पूर्वप्राध्यापक योगेन्द्र राय यादवका अनुसार आसन्न निर्वाचनमा सुरक्षा नै सबैभन्दा ठूलो चुनौती बनेको छ।