वीरगंज / स्व. बिहारीलाल लाठको १४औं पुण्यतिथिमा रिलिफ सोसाइटी अफ कमर्सद्वारा आयोजित सम्मान तथा सिलाइ मेशीन वितरण कार्यक्रम सम्पन्न भयो ।
सोसाइटीका अध्यक्ष योगेन्द्र यादवको अध्यक्ष्तमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा दीपक शाक्य, विशिष्ट अतिथिहरू वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, डा रामजी राम सहभागी थिए । अवसरमाथि प्रकाश पार्दै सोसाइटीका सल्लाहकार गणेश लाठले कुन र के परिस्थितिमा सोसाइटीको जन्म भयो, संस्थापक सदस्यहरूले के कति परिश्रमबाट संस्थालाई यहाँसम्म पुर्याए भन्ने कुरा बताएका थिए ।
कार्यक्रमका मुख्य अतिथि मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले स्व बिहारीलाल लाठ कर्मवीर सम्मानपत्र साहित्यकार एवं पत्रकार मुकुन्द आचार्यलाई प्रदान गरेका थिए भने विशिष्ट अतिथिहरूले समाजमा अनुकरणीय, कर्मप्रधान कार्य गरेबापत अनामिका रौनियार, नेहा अग्रवाल, दीप्ति धुरका, रामप्रसाद पडित तथा सौरभ रौनियारलाई सम्मान गरेका थिए ।
स्व बिहारीलाल लाठको पुण्यतिथिमा आरम्भिक समयदेखि नै कर्मशील, गरिखाने वर्गका सीपयुक्त महिलाहरूलाई राधादेवी बृजलाल लाठ ट्रस्टको सौजन्यबाट सिलाइ मेशीन वितरण हुँदै आएकामा यस वर्ष पनि १३ वटा सिलाइ मेशीन वितरण गरिएको थियो ।
स्वागत भाषण अध्यक्ष योगेन्द्र यादव र सहजीकरण नीरज अग्रवालले गरेको सो कार्यक्रममा प्रमुख अतिथि डा शाक्यले बिहारीलाल लाठले अन्य सहविचारधारीसहित उदीयमान व्यवसायीहरूको हकहितलाई ध्यानमा राखी स्थापना गरेको रिलिफ सोसाइटीले अनवरत् समाजको हितमा काम गर्दै आएको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यस्तै, विशिष्ट अतिथि हरि गौतमले बीउ असल भयो भने उपज पनि राम्रो हुने उद्धरण दिंदै बिहारीलाल लाठको इमानदारीपूर्ण व्यापार, सादा र स्वच्छ जीवनशैलीको अनुकरण उनका पुस्ताहरूले गर्दै आएको बताए । कार्यक्रममा विशिष्ट अतिथि डा रामजी राम र सम्मानित व्यक्तित्व अनामिका रौनियारले पनि मन्तव्य व्यक्त गरेका थिए ।