रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौर मा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
प्रशासनका अनुसार कर्फ्यु जारी भएको क्षेत्रमा कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ।
कर्फ्यु उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ।
पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्रलाई कर्फ्यु आदेशको दायरामा राखिएको प्रशासनले जनाएको छ।
गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः दुई समुदायबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो।
प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुङ्गा–मुढा सुरु भई स्थिति बिग्रिएको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल तथा सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी नेतृत्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ।