कर्फ्यू लागेपछि वीरगंज महानगरपालिका वडा नम्बर–११ श्रीपुर क्षेत्र लगायत मुख्य बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सम्भावित अप्रिय घटना नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।
सुरक्षाकर्मीहरूले श्रीपुर, आदर्शनगर, घण्टाघर, माईस्थान, इनारवा तथा आसपासका संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती तथा निगरानी बढाएका छन्। मुख्य सडक, चोक तथा बजार क्षेत्रमा अनावश्यक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने कर्फ्यूको पूर्ण पालना गराउन सुरक्षा निकाय सक्रिय रूपमा खटिएका छन्।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न, अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।
सुरक्षा निकायले क्षेत्रको अवस्था सामान्य नहुँदासम्म उच्च सतर्कता अपनाइने जनाएको छ।
दुइ समुदायबिचको उत्पन्न विवादलाइ मध्यनजर गर्दै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले तोकेको सीमाअनुसार कर्फ्यू क्षेत्रभित्र निम्न स्थानहरू समेटिएका छन्–
• पूर्व: बाइपास रोड
• पश्चिम: सिर्सिया नदी
• उत्तर: गण्डक चौक
• दक्षिण: शंकराचार्य गेट
उक्त चार किल्लाभित्र सर्वसाधारणलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवामा संलग्न सवारी साधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीलाई भने आवश्यक समन्वयपछि आवागमनमा सहजीकरण गरिने जनाएको छ।
सुरक्षा संवेदनशीलता बढेपछि प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न यो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ्।