वीरगंज — आगामी माघ २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सामा संयुक्त मतदान सिमुलेसन अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
आइतबार वीरगंज महानगरपालिका–१४ स्थित चिनिमिल ग्राउण्डमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले संयुक्त डेमोस्ट्रेशन अभ्यास सुरु गरेको हो।
अभ्यास कार्यक्रममा श्री जंगदल गण बाट उप–सेनानी सन्देश तामाङको कमाण्डमा २१ जना, जिल्ला प्रहरी कार्यालय पर्सा बाट प्रहरी निरीक्षक एकनाथ भट्टाराईको कमाण्डमा ३५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक फलबहादुर थापाको कमाण्डमा ५० जना सुरक्षाकर्मी (निर्वाचन प्रहरी १५० जना सहित) सहभागी रहेका थिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृतहरू, श्री जंगदल गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, नं.१३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्सा का प्रमुख सन्तोष ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा पत्रकार तथा स्थानीयवासी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो। अभ्यासका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, भीड व्यवस्थापन तथा आपतकालीन अवस्थाको सामना गर्ने विषयमा प्रदर्शन गरिएको थियो।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले संयुक्त सुरक्षा निकायले पूर्वतयारीस्वरूप उक्त अभ्यास कार्यक्रम सञ्चालन गरेको जनाएको छ।