वीरगंज — पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सद्भाव संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठकले हालै वीरगंज महानगरपालिका–११ श्रीपुरमा भएको घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ।
बैठकले आइतबार हिजो बेलुका श्रीपुर क्षेत्रमा भएको घटनाबाट प्रभावित पक्षले जाहेरी दिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने तथा दोषी पक्षलाई कानुनअनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
साथै, यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित धार्मिक तथा सामाजिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको छ।
त्यसैगरी, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने तथा सामाजिक सञ्जालमा भ्रामक सामग्री भाइरल बनाउने कार्य नगर्न सबैलाई आग्रह गरिएको छ। यदि कसैले सामाजिक सञ्जालमार्फत हेट स्पिच वा भड्काउ सामग्री प्रचार–प्रसार गरेमा साइबर कानुन तथा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने निर्णय बैठकले गरेको छ।
बैठकले आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।
सद्भाव कायम राख्दै शान्ति, सुरक्षा र सामाजिक एकता सुदृढ गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै बैठक सम्पन्न भएको प्रशासनले जनाएको छ।