विरगंज / निर्वाचन आयोग, नेपाल ले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन अवधिभर नगद वा जिन्सी लेनदेन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
आयोगका अनुसार उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतदातालाई मतदान गर्न वा नगर्न प्रभावित पार्ने उद्देश्यले नगद, उपहार, पुरस्कार, इनाम, दान, बक्सिस वा अन्य कुनै जिन्सी वस्तु दिन वा दिन मञ्जुर गर्न पाइने छैन। त्यस्तै सार्वजनिक भोज आयोजना गर्न वा त्यस्ता गतिविधिमा मतदातालाई सहभागी गराउन पनि निषेध गरिएको छ।
त्यसैगरी मतदाताले पनि मतदानको अधिकार प्रयोग गर्ने वा नगर्ने सन्दर्भमा नगद वा जिन्सी लिन वा लिन सहमत हुन नपाइने आयोगले स्पष्ट पारेको छ।
यस प्रकारको गैरकानुनी गतिविधि गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना, १ वर्षसम्म कैद सजाय, वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिँदै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई नियमको पालना गर्न आग्रह गरेको छ।