वीरगंज, पर्सा — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी सूचनाअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो। शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तथा निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाएको छ।
निर्वाचन आयोग, नेपालबाट जारी निर्देशन, गृह मन्त्रालयबाट प्राप्त परिपत्र तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरिएको हो। प्रशासनले निर्वाचन अवधिमा मदिरा सेवन वा बिक्री–वितरणका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनाको अवज्ञा गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी उक्त सूचनामा सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई नियमको पालना गर्न आग्रह गरिएको छ।