वीरगन्ज— मधेश विश्वविद्यालयको प्राङ्गणमा शनिवार ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार–२०२६’ अर्पण समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा अमेरिका निवासी प्रख्यात साहित्यकार तथा कवि सुभाष कुमार बैठालाई प्रतिष्ठित ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको छ।
कार्यक्रममा बैठाका कालजयी कृतिहरू— ‘गाँव’ र ‘लड़ाई जिंदगी के’ —बारे विशेष छलफल गरिएको थियो। वक्ताहरूले उहाँको लेखनीमा माटोको सुगन्ध, प्रवासको पीडा तथा सामाजिक सरोकारको गहिराइ स्पष्ट झल्किने बताए। सम्मानस्वरूप उहाँलाई नगद ११ हजार नगद राशि, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरियो ।
समारोहको अध्यक्षता पुरस्कारका संस्थापक, राष्ट्रिय कवि दिनेश गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै पुरस्कारका संस्थापक गुप्ताले भोजपुरी साहित्यिक क्षेत्रमा नयाँ प्रतिभावहरूको मनोबल बढाउन आफूले पुरस्कार स्थापना गरेको बताए ।
मुख्य अतिथिका रूपमा विश्वविद्यालयका उप–कुलपति प्रा. डा. दीपक बहादुर शाक्यको उपस्थिति रहेको थियो। अतिथिहरूले साहित्य, भाषा संरक्षण तथा सृजनात्मक लेखनको महत्वमाथि प्रकाश पार्दै युवा पुस्तालाई मातृभाषामा सिर्जना गर्न प्रेरित गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले सुभाष कुमार बैठा जस्ता स्रष्टा सात समुद्रपार रहेर पनि आफ्नो भाषा र साहित्यलाई समृद्ध बनाइरहनु मधेश तथा भोजपुरी भाषी समुदायका लागि गौरवको विषय भएको उल्लेख गरे।
‘दिनेश गुप्ता प्रतिभा पुरस्कार व्यवस्थापन समिति’को सुव्यवस्थित तथा गरिमामय आयोजनको प्रशंसा गरिएको थियो। समारोहमा साहित्यकार, प्राध्यापक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।