पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतगणना कार्य सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार आज बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि विधिवत् रूपमा मतगणना प्रक्रिया सुरु गरिएको हो।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ र २ को मतगणना वीरगंज–१० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ।
त्यस्तै क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल माध्यमिक विद्यालयमा भइरहेको छ।
आज बिहान ७:३० बजेका लागि डाकिएको सर्वदलीय बैठक साढे ९ बजे सम्पन्न भएको थियो। सोही बैठकको निर्णयअनुसार बिहान १० बजेदेखि विधिवत् रूपमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसपटक पर्साका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ। यहाँ चार जना पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका कारण प्रतिस्पर्धा रोचक बनेको छ। पूर्वमन्त्री प्रदीप यादव, अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी लगायतका हेभिवेट नेताहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ। त्यसैले चुनावी नतिजालाई लिएर आम सर्वसाधारणमा ठूलो उत्सुकता र पर्खाइ देखिएको छ।
मतगणना स्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ। तारजालीभित्र र सीसीटीभीको प्रत्यक्ष निगरानीमा मतगणना कार्य अघि बढाइएको छ। साथै ठाकुरराम क्याम्पस र पोखरिया दुवै स्थानबाट प्रत्येक एक–एक घण्टामा मत परिणामको अपडेट दिने तयारी गरिएको छ।
निर्वाचन अधिकारीहरूका अनुसार मध्यान्ह १२ बजेपछि प्रारम्भिक नतिजा आउन थाल्ने अनुमान गरिएको छ।