कपिलवस्तुको महाराजगन्ज बर्गदवा क्षेत्रमा निषेधाज्ञाबिच हुलाकी मार्गमा स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।
प्रहरी हस्तक्षेपका क्रममा युवाहरू र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। हवाइ फायरका क्रममा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको प्रहरीले जनाएको छ। झडपमा २ जना प्रहरीहरू पनि घाइते भएका छन्।
महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा उत्पन्न भएको विवाद बढ्दै गएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो
दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा भनिएको छ।
मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दुहरूले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि विवाद बढेको स्थानीयले बताएका छन्। मुस्लिम पक्षले भजनको आवा घटाउन भटाएपछि दुई समूदायबीच झडप नै भएको थियो। घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ।
प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।