वीरगञ्ज / वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस मा उत्पन्न विवाद अन्ततः समाधानतर्फ गएको छ। कक्षा ११ र १२ को आन्तरिक परीक्षा अन्तिम समयमा स्थगित गरिएपछि आक्रोशित बनेका विद्यार्थीहरूको आन्दोलन, प्रहरीसँगको झडप र त्यसपछिको तनावपूर्ण अवस्थाबीच जिल्ला प्रशासन कार्यालयको पहलमा सहमति जुटेको हो।
परीक्षा दिन आइतवार बिहानै क्याम्पस पुगेका विद्यार्थीहरूलाई एक्कासी सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिइएपछि उनीहरू आक्रोशित भएका थिए। त्यसपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा नाराबाजी तथा प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनका क्रममा भीड नियन्त्रण गर्न पुगेको प्रहरीसँग विद्यार्थीहरूबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए भने क्याम्पसका सवारी साधनमा तोडफोडसमेत भएको थियो।
घटना बढ्दै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विद्यार्थी, क्याम्पस प्रशासन र सञ्चालक पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई छलफल गराएका थिए। करिब ९ घण्टा लामो छलफलका क्रममा सिडिओ दाहालले क्याम्पस व्यवस्थापनको कडा आलोचना गर्दै सहमति जुटाउन दबाब दिएका थिए।
छलफलपछि तीन बुँदे सहमति भएको छ। जसअनुसार स्थगित परीक्षा तत्काल सञ्चालन गरिने, आन्दोलनका क्रममा घाइते विद्यार्थीहरूको उपचार क्याम्पसले गर्ने र बाँकी शैक्षिक तथा प्रशासनिक समस्याबारे पुनः छलफलमार्फत समाधान खोजिने सहमति भएको हो। सहमतिसँगै विद्यार्थीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार विवादको मुख्य कारण क्याम्पस प्रशासन र शिक्षकबीचको आन्तरिक द्वन्द्व हो। लामो समयदेखि तलब नपाएको गुनासो गर्दै शिक्षकहरूले परीक्षा बहिष्कार गरेपछि उनीहरू परीक्षा हलमा उपस्थित नभएका कारण परीक्षा स्थगित गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस प्रमुख रविन्द्र यादव ले पनि शिक्षक अनुपस्थित भएपछि परीक्षा स्थगित गरिएको बताएका छन्।
सहमति भएपछि क्याम्पसको अवस्था अहिले सामान्यतर्फ फर्कँदै गएको र परीक्षा चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।