कलैया / बाराको प्रादेशिक अस्पताल कलैया मा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी रूपमा सञ्चालन नभएको पाइएको छ।
राष्ट्रिय महिला आयोग की अध्यक्ष कमला कुमारी पराजुली ले अनुगमनका क्रममा सेवा प्रभावहीन रहेको बताएकी हुन्।
सोमबार जिल्ला प्रशासन कार्यालय बारामा आयोजित छलफलका क्रममा उनले ओसिएमसी शाखा बन्द अवस्थामा भेटिएको र सम्बन्धित कर्मचारी अनुपस्थित रहेको जानकारी दिइन्। अस्पताल परिसरमा ओसिएमसीसम्बन्धी कुनै सचेतनामूलक बोर्डसमेत नभएको उनले बताइन्।
अध्यक्ष पराजुलीका अनुसार हरेक वर्ष १० लाखभन्दा बढी बजेट विनियोजन हुने भए पनि सोअनुसार सेवा प्रवाह हुन सकेको छैन। उनले हिंसा प्रभावितलाई स्वास्थ्य, कानूनी, मनोसामाजिक परामर्श, सुरक्षा तथा पुनर्स्थापनासम्बन्धी सेवा प्रभावकारी बनाउन आग्रह गरिन्।
पर्साका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ले ओसिएमसीसम्बन्धी सचेतनामूलक बोर्ड राख्न र सम्बन्धित निकायबीच समन्वय बढाउन निर्देशन दिएका छन्।
अस्पतालकी ओसिएमसी प्रमुख अनिता कुमारी जैसवालले कर्मचारीहरू लेबर वाडमा व्यस्त रहेकाले शाखामा उपस्थित हुन नसकेको बताएकी छन्। उनका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ९८ जना हिंसा प्रभावितलाई सेवा प्रदान गरिएको छ भने गत वर्ष १६६ जनाले सेवा लिएका थिए।
कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।