वीरगंज / बाल संरक्षण, शिक्षा र पारिवारिक सहयोगमार्फत सामाजिक विकासमा योगदान पुर्याउँदै आएको आवर संसार नेपाल, पर्साले मधेस प्रदेशमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ यही चैत ५ गते सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष मुकेश साह को अध्यक्षता तथा नारायणी अस्पताल का ओ.सी.एम.सी फोकल पर्सन हेमा थापा को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित बाल संरक्षण तथा बालश्रम अन्त्यसम्बन्धी कार्यक्रमहरूको आम्दानी, खर्च, परियोजना, तिनका क्रियाकलाप, लक्ष्य तथा उपलब्धिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै सामाजिक लेखा परीक्षकद्वारा गरिएको मूल्यांकनको नतिजा पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले संस्थाद्वारा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि क्षमता अभिवृद्धि तथा स्थानीय सरकार र सरोकारवालासँग समन्वय र सहकार्य अझ मजबुत बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको सामाजिक विकास तथा शिक्षा महाशाखाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख, विभिन्न विद्यालय, स्वास्थ्य संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सेवाग्राही तथा स्थानीय तहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।