वीरगंज । हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिने शोभायात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले ५ बुँदे विशेष निर्णय सार्वजनिक गरेको छ।
मंगलवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक सहीष्णुता कायम राख्न र सुरक्षा व्यवस्था मजबुत बनाउन निर्णय गरेको हो ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न धार्मिक संघ–संस्थाका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
बैठकले शोभायात्राको क्रममा कुनै पनि प्रकारका घरेलु हातहतियार प्रदर्शन गर्न पाइने छैन। उच्च ध्वनिको डिजे लगायतका ध्वनि प्रदुषण गर्ने गतिविधि र मोटरसाइकल -यालीलाई पूर्ण रूपमा निषेध गरिएको छ।
समय र रूटको पालनाः विभिन्न स्थानबाट निस्कने शोभायात्रा निर्धारित रूट र समयभित्रै घण्टाघरमा एकत्रित भई शान्तिपूर्ण र भव्य रूपमा सञ्चालन गर्नुपर्नेछ।
चाडपर्व मनाउने सन्दर्भमा कुनै पनि समुदायबाट अर्काे समुदायलाई असर पर्ने गतिविधि गर्न पाइने छैन। यदि कसैले सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको छ।
शोभायात्राको नेतृत्व गर्ने जिम्मेवार व्यक्तिको नाम र मोबाइल नम्बर सहितको विवरण आयोजक पक्षले एक दिन अगावै सुरक्षा निकायलाई बुझाउनुपर्नेछ। -यालीमा सहभागी हुन आउनेहरूको सवारी साधन पार्किङ्गलागि वीरगंज महानगरपालिकाको समन्वयमा बि.पि. उद्यान नजिकैको खाली स्थान तय गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा धार्मिक सहीष्णुता र आपसी भाइचारा कायम राख्दै अनुशासित रूपमा उत्सव मनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ। प्रशासनले तय गरेका यी नियमहरूको उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने समेत बैठकले स्पष्ट पारेको छ।