काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको हो।
परिसरले ४ जना गुण्डागर्दी गरी ग्याङसम्म बनाउन सुरु गरेका व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।
श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका प्रवीण तामाङ ‘डिम्पल’ भन्ने व्यक्ति पक्राउ परेका छन्।
कलंकी बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिरजू महर्जन पक्राउ परेका छन्।
सुजन कार्कीले कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोप छ।
त्यस्तै, सुरु हमागाईंलाई स्युचाटार क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको छ। उनले ग्याङसमेत बनाउन थालेको प्रहरीको दाबी छ।
त्यस्तै, काठमाडौं अपराध अनुसन्धान कार्यालयले पनि १३ जनालाई पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।