वीरगञ्ज / बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै भारतीय सीमा सुरक्षा बल एसएसबी र बिहार प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विशेष अपरेशनमा दुई थान कटुवा पेस्तोल, गोली, गाँजा, नेपाली मदिरा तथा मोटरसाइकलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
एसएसबी मुख्यालय पिपराकोठीका प्रवक्ता बिनित कुमार सिंहले शुक्रबार जारी गरेको सूचनाअनुसार, एसएसबी ७१ औँ बटालियन मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त गोप्य सूचनाका आधारमा उक्त कारबाही गरिएको हो।
बुधबार साँझ करिब ८ः४० बजे ‘सी’ कम्पनी बेलदारवा मठ अन्तर्गत पर्ने लालाछाप्रा भारत–नेपाल चेकपोस्ट क्षेत्रमा बिहार प्रहरी आदापुरसँगको समन्वयमा संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। अपरेशनका क्रममा सुरक्षाकर्मीले ८ एमएम केएफ लेखिएको एक थान जिउँदो गोली, करिब १२ ग्राम गाँजा, १५ बोतल नेपाली मदिरा तथा एउटा मोटरसाइकल बरामद गरेका थिए।
कारबाहीका क्रममा पक्राउ पर्नेहरुमा पूर्वी चम्पारण जिल्लाको आदापुर थाना क्षेत्र निवासी २३ वर्षीय अफताब अन्सारी, २५ वर्षीय अफरोज अन्सारी र २० वर्षीय गुड्डु कुमार शाह रहेका छन्।
पक्राउ परेकामाथि गरिएको प्रारम्भिक सोधपुछपछि उनीहरुले दिएको सूचनाका आधारमा बिहीबार दिउँसो १२ः३० बजे अफरोज अन्सारीको घरमा संयुक्त रुपमा छापा मारिएको थियो। सो छापामारीका क्रममा दुई थान घरेलु कटुवा पेस्तोल बरामद गरिएको एसएसबीले जनाएको छ।
बरामद हतियार तथा अन्य सामग्री थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन आदापुर प्रहरीलाई बुझाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य विवरण प्राप्त भएपछि सार्वजनिक गरिने एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वाजित तिवारीले जानकारी दिएका छन्।
पछिल्लो समय भारत–नेपाल सीमाक्षेत्रमा अपराध नियन्त्रण, तस्करी रोकथाम तथा सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन एसएसबी ७१ बटालियनले विशेष सक्रियता देखाउँदै आएको छ।