वीरगंज – वीरगंजको रोयल एकेडेमी विद्यालयले शनिबार आफ्नो ९औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। विद्यालयले विशेष कार्यक्रम आयोजना गर्दै बालबालिकालाई सानै उमेरदेखि नै मानवता सिकाउने उद्देश्यका साथ विभिन्न प्रस्तुति दिएका छन्।
बाल कक्षा (पीजी) देखि कक्षा १ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी "मानवताकाे सुरुवात आफैंबाट" भन्ने शीर्षकमा कार्यक्रम गरिएको थियो। वीरगंजको क्लासिक बैंक्वेटमा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाले विभिन्न सामाजिक विषयवस्तुमा आधारित नाटक प्रस्तुत गरे। साथै, उनीहरूले जातीय पहिचान झल्किने परम्परागत भेषभूषा लगाएर सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए।
विद्यालयकी सञ्चालिका सबनम श्रेष्ठले बालबालिकालाई सानै उमेरदेखि विद्यालयस्तरमै मानवता सिकाउनु पर्नेमा जोड दिइन्। उनले समाजमा नैतिकता र सद्भाव कायम गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताइन्।
यसैगरी, विद्यालयकी प्रधानाध्यापक बिजया ओझईयाले बाल्यकालमै सिकाइएका कुराहरू भविष्यमा व्यवहारमा लागू हुने भएकाले सबै विद्यालयले यस प्रकारको शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
कार्यक्रममा मानव सेवा आश्रम वीरगंजका देवेश गुप्ता, ग्लोबल कलेजका कार्यकारी निर्देशक ओम श्रेष्ठ, पत्रकार विमला गुप्ता, आनन्द पटेल, सूर्य विक प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साथै, अभिभावकहरू, विद्यालयका शिक्षक - शिक्षिकाहरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन कक्षा २ देखि ५ सम्मका बालबालिकाले गरेका थिए।
संचालिका श्रेष्ठले मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वबारे सचेतना जगाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताइन ।