वीरगंज, - वीरगंजस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गहवामाई मन्दिरमा १३औं वार्षिक पूजा शुक्रबार भव्य धार्मिक अनुष्ठानका साथ सम्पन्न भएको छ। नवनिर्मित मन्दिर र गर्भगृहमा आयोजित पूजा समारोह भक्तिभाव, सांस्कृतिक र उत्सवमय वातावरणमा सम्पन्न भएको हो।
माईस्थान सञ्चालक समितिको आयोजनामा सम्पन्न कार्यक्रम शुक्रबार बिहान ८:०० बजेबाट पूजाको विधिवत आरम्भसँगै सुरु भएको थियो । परम्परागत वास्तुशैलीमा निर्माण गरिएको गर्भगृहमा विधिपूर्वक पूजा सम्पन्न गरियो। गर्भगृहमा माताको मूर्तिमा अभिषेक, वस्त्रधारण, तथा पुष्पसज्जा गरिएको थियो। पूजामा वेदपाठी पण्डितहरूद्वारा मन्त्रोच्चारण, कलश स्थापना, दुर्गा स्तोत्र पाठ, नवग्रह पूजा, हवन, र आरती जस्ता विविध धार्मिक विधिहरू सम्पन्न गरिए।

साँझ ७:०० बजे विशेष आरती तथा पूर्णाहुति गरी पूजाको समापन गरियो। पूजामा नगरका विभिन्न भागबाट आएका भक्तजनहरूको उल्लेखनीय सहभागिता थियो।
अध्यक्ष नरेन्द्र शाहको नेतृत्वमा विशेष तयारी
कार्यक्रमका प्रमुख संयोजक तथा माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र शाह ले पूजालाई भव्य बनाउने लक्ष्यका साथ एक साता अघिदेखि मन्दिरको आन्तरिक तथा बाह्य सजावट, सरसफाइ, व्यवस्थापन र धार्मिक सामग्रीको तयारी गरिएको जानकारी दिए।
उनले भने: “गहवामाई नगरकी अधिष्ठात्री देवी हुनुहुन्छ। यो पूजा केवल धार्मिक कर्तव्य नभई सम्पूर्ण नगरवासीको सुख, शान्ति र समृद्धिको कामनासहितको सामूहिक श्रद्धा हो।”

शताब्दीयौँ पुरानो धार्मिक आस्था बोकेको गहवामाई मन्दिर वीरगंजवासीहरूका लागि केवल एक धार्मिक स्थल नभई सामाजिक भावनाको संगम र सांस्कृतिक परिचयको प्रतीक पनि हो। यहाँ चैत्र नवरात्र, नवदुर्गा, तीज, र अन्य पर्वहरूमा हजारौँ भक्तजनहरूको सहभागिता हुने गर्दछ।

वार्षिक पूजाको अवसरमा मन्दिर परिसर फूल, लाइट, धार्मिक ध्वजाले आकर्षक रूपमा सजाइएको थियो। मन्दिरका स्वयंसेवकहरू व्यवस्थापन, स्वागत, प्रसाद वितरण र सुरक्षा व्यवस्थापनमा खटिएका थिए।
पूजामा वीरगंजका विभिन्न टोल, बस्ती र समाजका महिला, पुरुष, वृद्ध, युवा तथा बालबालिकासमेत उत्साहपूर्वक सहभागी बने। कतिपय सामाजिक तथा धार्मिक संस्थाहरूले पनि सहकार्य गरेका थिए।

गहवामाईको दर्शन एवं पूजाले मनोकामना पूर्ण हुने विश्वाससहित भक्तजनहरूले भक्ति, ध्यान र श्रद्धाका साथ पूजामा सहभागी भएको दृश्य निकै मनमोहक देखिन्थ्यो।



