आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चारवटै क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये क्षेत्र नं १ का अधिकांश उम्मेदवारले आफ्नो शैक्षिक योग्यता र शिक्षण संस्था लुकाएका छन् ।
चारवटा निर्वाचन क्षेत्रमध्ये आफ्नो शैक्षिक योग्यता र शिक्षण संस्था लुकाउनेमा क्षेत्र नं १ का उम्मेदवार बढी छन् भने आफ्नो शैक्षिक योग्यता र शिक्षण संस्था खुलाएर लेख्नेमा क्षेत्र नं २ का उम्मेदवारहरू बढी छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूसँग पूरा नाम, क्षेत्र, जिल्ला, जन्मस्थान, स्थायी ठेगाना, उमेर, बुबा/आमाको नाम, पति/पत्नीको नाम, राजनीतिक दल/स्वतन्त्र, चिह्न, शैक्षिक योग्यता र शिक्षण संस्था लेखेर फाराम भर्न लगाएको थियो ।
यो फाराममा जिल्लाका केही उम्मेदवारहरूले शैक्षिक योग्यता र शिक्षण संस्था लेखिएको खण्ड भने खाली राखेको पाइएको छ । जिल्लाबाट दलगतरूपमा उम्मेदवारी दर्ता गराएकाहरूमा क्षेत्र नं १ का एमाले उम्मेदवार प्रदीप यादवले शैक्षिक योग्यता खण्डमा १२ कक्षा मात्र लेखेका छन् भने शिक्षण संस्था खाली राखेका छन् । राप्रपाका नन्दकिशोर श्रीवास्तवले एसएलसी मात्र लेखेका छन् । श्रम संस्कृति पार्टीका वसिम शेखले एसइई मात्र लेखेका छन् । यसैगरी, जनमतका ओमप्रकाश सर्राफ, नेमकिपाका प्रमोद पटेलले पनि एसएलसी मात्र लेखेका छन् भने शैक्षिक संस्था खुलाएका छैनन् ।
नेकाका अनिल रूँगटा, रास्वपाका अजय चौरसिया, नेपाल जनता पार्टीका सुरेश कानू, नेकपा संयुक्तका शङ्कर कर्ण, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह, राष्ट्रनिर्माण दलका महमद उमर खान, नेपाल लोकतान्त्रिक पार्टीका सालिकराम कानूले शैक्षिक योग्यताको खण्ड भरेका छैनन् । यीमध्ये कोही इन्जिनीयर, शिक्षक, अधिवक्ता, उद्योगी पनि छन् । उनीहरू पढेलेखेका पनि छन् तर फाराममा भने उल्लेख गरेका छैनन् ।
फाराममा उल्लेख गर्नेमा यो क्षेत्रबाट जसपा नेपालका रामनरेश यादवले त्रिविविबाट एमए लेखेका छन् । आजपाका विश्वराज पटेलले त्रिविविबाट बिएड उल्लेख गरेका छन् ।
क्षेत्र नं २ मा एमालेकी रीमाकुमार यादवले हरि खेतान बहुमुखी क्याम्पसबाट बिएड, नेकाका अजयकुमार चौरसियाले भारतबाट स्नातक, नेकपाका मनोज चौधरीले त्रिविविबाट स्नातकोत्तर, रास्वपाका सुशील कानूले प्लस टु, राप्रपाकी वीणा जयसवालले भारतको बैंगलोरबाट एमबिए, जसपा नेपालका अशोक टेमानीले बिहार युनिभर्सिटीबाट बिकम, जनमतका श्याम गुप्ताले त्रिविविबाट स्नातकोत्तर उल्लेख गरेका छन् । यसैगरी, यो क्षेत्रका केही उम्मेदवारहरूले साधारण लेखपढ भनेर स्पष्ट लेखेका छन् ।
यसैगरी, क्षेत्र नं ३ बाट एमालेका रूपेश पाण्डेयले शैक्षिक योग्यता स्नातक लेखेका छन् तर शिक्षण संस्था लेखेका छैनन् । नेकाका सुरेन्द्र चौधरी र नेकपाका छोटेलाल यादवले त्रिविविबाट एमए लेखेका छन् । रास्वपाका रामाकान्त चौरसियाले १० लेखेका छन् तर शिक्षण संस्था लेखेका छैनन् भने राप्रपाका नवीनकुमार सिंहले त्रिविविबाट सिभिल इन्जिनीयरिङ, नेमकिपाका सरोज साहले त्रिविविबाट एमएड गरेको उल्लेख गरेका छन् ।
पर्सा क्षेत्र नं ४ बाट एमालेका जालिम मियाँले साधारण लेखपढ, नेकाका रमेश रिजालले ठाकुर राम बहुमुखी क्याम्पसबाट स्नातक, नेकपाका जयप्रकाश थारू, रास्वपाका टेकबहादुर शाक्यले ठाकुर रामबाटै आइकम गरेको लेखेका छन् भने, जसपा नेपालका डा कृपासिन्धु चौधरीले भारत गोरखपुरबाट पिएचडी गरेको लेखेका छन् ।
धेरैजसो स्वतन्त्र उम्मेदवार पढे लेखेका छन् भने, केही साधारण लेखपढ गर्न सक्नेछन् । एक दर्जनभन्दा बढी स्वतन्त्र उम्मेदवार साक्षर मात्र छन् ।