बिरगञ्ज। गहवा माइ मन्दिरको प्रांगणमा आज महाशिवरात्रिको दिन शिवजीको धुनी पूजन तथा झाँकी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
माइस्थान सञ्चालक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धार्मिक आस्था, श्रद्धा र भक्ति भावले भरिएको वातावरण देखिएको थियो। कार्यक्रममा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अवधिभर दिउँसो भजन–कीर्तन, शिव स्तुति तथा झाँकी प्रदर्शन गरिएको थियो भने साँझ विशेष धुनी पूजन गरिएको थियो, जसले सम्पूर्ण परिसरलाई आध्यात्मिक बनाएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण भक्तजन, स्वयंसेवक, कलाकार, सुरक्षा निकाय तथा स्थानीयवासीप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

माइस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले कार्यक्रमप्रति देखाइएको व्यापक जनसहभागिता र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने बताएका छन्।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले समुदायबीच आपसी एकता थप मजबुत बनाएको आयोजकको भनाइ छ।
