वीरगञ्ज/ नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १६ (इनरवा) मा मङ्गलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा यादवले स्थानीयवासीहरुसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा, सुझाव र अपेक्षाहरू सुनेका थिए।
स्थानीयको आशीर्वाद र उत्साहजनक समर्थनले आफू थप प्रेरित भएको उनले बताए।
यस्तै, सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट इनरवामा चुनावी प्रचार–प्रसार सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ।
उद्घाटनपछि बोल्दै यादवले उक्त कार्यालय जनतासँग निरन्तर समन्वय गर्ने, विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने तथा निर्वाचन अभियानलाई थप सशक्त बनाउने केन्द्र बन्ने विश्वास व्यक्त गरे।
उनले “समृद्ध वडा, व्यवस्थित शहर र उज्ज्वल भविष्य” को लक्ष्यसहित आफू अघि बढिरहेको उल्लेख गर्दै जनताको साथ, सहयोग र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
स्थानीयवासीहरूले पनि यादवको घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै विकास र सुशासनको अपेक्षा व्यक्त गरेका छन ।