वीरगञ्ज/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति तथा हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्।
ममता शर्माले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंमा बुझाएको राजीनामा पत्रमा भनिन्— “पार्टी स्थापना गर्दा गरिएको सार्वजनिक प्रतिबद्धता, विधान र मूल मूल्यभन्दा हालको निर्णय तथा कार्यशैली पूर्ण रूपमा विपरित देखिएको छ।”
उनले २०७९ साल श्रावण १० गतेदेखि पार्टीमा आबद्ध भई मधेस प्रदेशमा संगठन विस्तार, महिला सशक्तीकरण तथा सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएकी छन्।
आगामी फागुन २१ गते हुने निर्वाचन सन्दर्भमा पार्टीले अपनाएको पद्धति, उम्मेदवार छनोट प्रक्रिया र आन्तरिक निर्णय शैलीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्—
“क्षमतावान र दिनरात खटिएका घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको देखियो। विधि र विधान विपरित निर्णय भएका छन्।”
आर्थिक अनियमितताको आरोप
शर्माले पार्टीभित्र आर्थिक अनियमितता तथा पैसाबाट प्रेरित निर्णयहरू भइरहेको गम्भीर आरोपसमेत लगाएकी छन्।
उनका अनुसार, “यी सबै कारणले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आघात पुगेको छ। अब म मौन बस्न सक्दिन।”
शर्माले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको स्पष्ट पारेकी छन्।
अन्त्यमा उनले पार्टीले दिएको अवसर, सहकार्य र अभिभावकत्वका लागि आभार व्यक्त गरेकी छन्।