नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि चुनावी ‘भिजनपत्र’ सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित सभाबाट कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिँदै देशलाई सम्हाल्ने र अवस्था बदल्ने प्रतिज्ञा जनाएको छ।
जेनजीको माग भ्रष्टाचार विरोधी भावनालाई सम्बोधन गर्दै कांग्रेसले पाँच वर्षभित्रै हासिल हुन सक्ने लक्ष्य मात्र नभई आफूले बनाउन चाहेको सुन्दर नेपालको खाका भएको दाबी गरेको छ।
कांग्रेसले आफ्नो घोषणापत्रमा दश बुँदे प्रतिबद्धता जनाएको छ। जसमा सम्मानित जीवनको सुनिश्चितता गर्ने उल्लेख छ। कांग्रेसले हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने तथा जात, धर्म वा लिङ्गका आधारमा हुने विभेद र हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।
युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारीको अवसर दिने र प्रवासमा रहेका नेपालीको ज्ञान र पुँजीलाई मातृभूमिमा जोड्ने, साना तथा ठूला लगानीकर्तालाई प्रोत्साहन गर्ने, श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र अवैध सम्पत्ति आर्जनलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने प्रतिबद्धता कांग्रेसले व्यक्त गरेको छ।
कृषिलाई आधुनिक र मर्यादित बनाउँदै मल, बीउ र सिँचाइको अभाव अन्त्य गर्ने र नेपाली उत्पादनलाई विश्व बजारमा ुब्रान्डु बनाउने, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका साथ उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले उपचारको जिम्मेवारी लिने व्यवस्था गर्ने कांग्रेसले दाबी गरेको छ।
शिक्षालाई राष्ट्रको लगानी मान्दै प्रिप्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने, राज्यका निकायहरूमा दलीयकरणको अन्त्य गर्ने र प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार र ढिलासुस्ती हटाउने, नेपालको विविधता (हिमाल, पहाड, मधेस) र संस्कृतिलाई संरक्षण गर्दै आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्ने तहमा पुर्याउने कुरा घोषणापत्रमा लेखिएको छ।
त्यस्तै सार्वभौमिक समानताको जगमा छिमेकी र मित्रराष्ट्रहरूसँग सम्बन्ध राख्ने र नेपाली राहदानीको सम्मान बढाउने, पर्यटन, ऊर्जा, आईटी र पूर्वाधारको द्रुत विकास गर्दै खुला र पर्यावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने कांग्रेसको वाचा छ।