वीरगञ्ज, पर्सा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका रूपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उदाएका छन्।
विगत तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्ने, अध्ययन गर्ने र ग्रासरूट तहबाट काम गर्दै आएका पाण्डेले पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट संकल्प सार्वजनिक गरेका छन्। स्थानीयसँग प्रत्यक्ष संवाद, टोल–टोलमा अन्तरक्रिया तथा सरोकारवालासँगको समन्वयमार्फत उनले क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।
परिवर्तनको संवाहक र भरोसायोग्य युवा उम्मेदवारका रूपमा स्थापित हुँदै गएका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार, रोजगारी तथा युवा उद्यमशीलता जस्ता आधारभूत विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “क्षेत्रको माटो चम्किन सक्छ, यदि सही नीति, इमानदार नेतृत्व र जनसहभागितामा आधारित विकासको मोडेल अपनाइयो भने,” उनले बताएका छन्।
पर्सा–३ मा शिक्षा र स्वास्थ्य सेवाको पहुँच अभाव, खानेपानी समस्या, कृषि उत्पादनको उचित बजारीकरण नहुनु, युवाको बढ्दो वैदेशिक पलायन तथा आधारभूत पूर्वाधारको कमजोरीजस्ता विषयमा उनले पटक–पटक आवाज उठाउँदै समाधानमुखी पहल अघि बढाएको बताइएको छ। क्षेत्रका युवाहरू, किसान र व्यवसायीसँगको समन्वयले उनलाई व्यवहारिक र परिणाममुखी नेतृत्वका रूपमा चिनाउन सहयोग गरेको समर्थकहरूको दाबी छ।
नयाँ पुस्ताको नेतृत्वप्रति बढ्दो आकर्षणका बीच पाण्डेको सक्रिय जनसम्पर्क अभियानले पर्सा–३ को चुनावी समीकरणमा प्रभाव पारिरहेको छ। विशेषगरी युवावर्ग, किसान तथा साना व्यवसायीबीच उनको पहुँच विस्तार हुँदै गएको देखिन्छ। स्थानीय तहमा “पर्सा–३ मा रूपेश कुमार पाण्डेको विकल्प नै नरहेको” चर्चा समेत सुरु भएको बताइन्छ।
विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले पर्सा–३ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। “जनताको विश्वास नै मेरो शक्ति हो, र त्यही विश्वासका आधारमा क्षेत्रको विकासका लागि निरन्तर लागिरहनेछु,” उनले एक कार्यक्रममा भने।
अब फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा निर्धारण गर्ने भएकाले मतदाताबीच चासो बढ्दै गएको छ। विकासमुखी एजेन्डा र जनतामुखी अभियानले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषय मतदाताको निर्णयले तय गर्नेछ।