वीरगञ्ज — रोयल एकेडमी वीरगञ्जले विद्यार्थीहरूको अंग्रेजी भाषिक क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वासी व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ रोयल इङ्ग्लिस कम्युनिटी (Royal English Community – REC) को औपचारिक उद्घाटन गरेको छ।
आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने रहेका थिए ।
समारोहमा विशेष अतिथिका रूपमा नेल्टा वीरगञ्जका अध्यक्ष सन्तोष कर्ण, विद्यालयकी निर्देशिका सबनम श्रेष्ठ, प्रधानाध्यापक विजया ओझैया तथा सह–प्रधानाध्यापक सुमन श्रेष्ठको उपस्थिति रहेको थियो।
विद्यालयका अनुसार रोयल इङ्ग्लिस कम्युनिटी स्थापना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूमा अंग्रेजी भाषाको प्रयोगात्मक दक्षता विकास गर्नु हो।
यस कम्युनिटीमार्फत वादविवाद, सार्वजनिक भाषण, सृजनात्मक लेखन, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूको बोल्ने, लेख्ने, नेतृत्व तथा सिर्जनात्मक सोच क्षमतामा निखार ल्याउने लक्ष्य राखिएको प्रधानाध्यापक विजया ओझैयाले जानकारी दिइन्।
त्यसैगरी विद्यालयकी निर्देशिका सबनम श्रेष्ठले अंग्रेजी भाषालाई केवल पाठ्यविषयका रूपमा नभई अवसर, अभिव्यक्ति र नेतृत्व विकासको माध्यमका रूपमा अघि बढाउने दृष्टिकोणसहित कम्युनिटी स्थापना गरिएको बताइन्।
उनका अनुसार यस पहलमार्फत आत्मविश्वासी वक्ता, सक्षम लेखक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ।
यसै सन्दर्भमा विद्यालयका सह–प्रधानाध्यापक सुमन श्रेष्ठले आगामी दिनहरूमा अंग्रेजी मात्र नभई विज्ञान, प्रविधि, कला तथा नेतृत्व जस्ता विषयगत कम्युनिटीहरू स्थापना गर्ने योजना रहेको जानकारी दिए।
यस्ता कम्युनिटीहरूले विद्यार्थीहरूलाई आफ्ना रुचि पहिचान गर्न, नयाँ सीप अन्वेषण गर्न तथा कक्षाकोठा भन्दा बाहिरको सिकाइ अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
विद्यालयले यस प्रकारका शैक्षिक पहलमार्फत शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा आधारित शिक्षा प्रणालीप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।