आज तराई–मधेसका विभिन्न जिल्लाहरूमा रंगहरूको पर्व होली (फगुवा) हर्षोल्लासका साथ मनाइँदै छ। पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा बिहानैदेखि मानिसहरू एकअर्कामा अबिर–गुलाल लगाउँदै, पानी र रंग छ्याप्दै होलीको रमाइलोमा सहभागी भएका छन्।

तराईका शहर तथा गाउँबस्तीहरूमा युवायुवती, बालबालिका तथा ज्येष्ठ नागरिकसम्म होलीको उत्सवमा रमाइरहेका छन्। विभिन्न स्थानमा गीत–संगीत, नाचगान तथा सामूहिक जमघटका कार्यक्रम पनि आयोजना गरिएका छन्। यस अवसरमा परिवार, साथीभाइ र छिमेकीबीच शुभकामना आदान–प्रदान गर्दै रंगको पर्व उल्लासपूर्वक मनाइँदै छ।
परम्पराअनुसार हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमाकै दिन होली मनाइने गरिन्छ भने तराई–मधेस क्षेत्रमा भोलिपल्ट रंग खेलेर फगुवा मनाउने चलन छ। तर यस वर्ष फागु पूर्णिमाको भोलिपल्ट चन्द्रग्रहण परेकाले धार्मिक मान्यताअनुसार ग्रहणअघि लाग्ने सूतक कालका कारण होली मनाउने समय एक दिन सारिएको हो।
हिन्दू परम्पराअनुसार ग्रहण सुरु हुनु केही घण्टा अघिदेखि सूतक लाग्ने विश्वास रहेको छ। सूतक लागेका बेला पूजा, उत्सव तथा शुभ कार्य नगर्ने चलन भएकाले होली मनाउने समय मंगलबारबाट सारेर आज बुधबार गरिएको हो।
होली पर्वलाई आपसी प्रेम, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिने गरिन्छ। यस अवसरमा मानिसहरूले पुराना मनमुटाव बिर्सेर एकअर्कामा रंग लगाउँदै शुभकामना साटासाट गर्ने परम्परा रहेको छ।