रौतहटका दुई संसदीय निर्वाचन क्षेत्रमा आएको चुनावी परिणामपछि आम जनता पार्टी (आजपा) र नेकपा एमालेका केही जिम्मेवार नेताले पार्टीबाट राजीनामा दिएका छन्। रौतहट क्षेत्र नम्बर ३ र ४ मा अपेक्षाविपरीत परिणाम आएपछि आजपाका केन्द्रीय कार्यकारी सदस्य तथा उप–महासचिव सुधीर यादव र नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य शेख एकरामुल ले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।
उनीहरूले आइतबार साँझ छुट्टाछुट्टै वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन्।
आजपाका नेता यादवले करिब २५ वर्ष लामो आफ्नो राजनीतिक यात्रामा विभिन्न अनुभव प्राप्त गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टी अध्यक्ष प्रभु साह को एकल निर्णय प्रक्रिया, कार्यशैली तथा रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमला लाई आवश्यक सहयोग र समय नदिएको विषयप्रति असहमति जनाएका छन्।
यादवले पार्टीभित्रकै केही व्यक्तिहरू प्रयोग गरी उम्मेदवारलाई पराजित गराउने प्रयास भएको आरोप समेत लगाएका छन्। यही कारणले आफूले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको बताएका छन्।
रौतहट–४ अन्तर्गत चन्द्रपुरमा बसोबास गर्दै आएका यादवले २५ वर्षदेखिको आफ्नो राजनीतिक संघर्षलाई स्मरण गर्दै आजकै मितिबाट पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।
त्यसैगरी रौतहट–३ अन्तर्गत गुजारा नगरपालिकाका निवासी तथा एमालेबाट मेयरका पूर्व प्रत्याशी शेख एकरामुलले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले भने राजीनामाको कारण खुलाएका छैनन्।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आएको परिणामपछि एमाले र आजपाभित्र केही नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको बताइएको छ।