काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई संसदमा प्रभावकारी रूपमा काम गर्न, जिम्मेवारी बुझ्न र पार्टी नीति अनुसार परिचालन गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम मंगलबार र बुधबार दुई दिन सञ्चालन हुनेछ।
अभिमुखीकरणको मुख्य उद्देश्य नयाँ सांसदलाई पार्टीको नीति, दृष्टिकोण, जिम्मेवारी र कार्यशैली सम्बन्धमा प्रशिक्षित गर्नु रहेको रास्वपाले जनाएको छ । बुर्लाकोटीका अनुसार प्रशिक्षणले सांसदलाई काममा दक्ष बनाउन र कार्यशैलीमा एकरूपता कायम राख्न सहयोग पुग्ने रहेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सांसद निर्वाचित गरेको थियो भने समानुपातिकतर्फ ५७ सांसदलाई सिफारिस गरेको थियो। हाल सबै दलका समानुपातिक सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन्।
रास्वपाले नयाँ सांसदलाई संसदको काम गर्ने तरिका पार्टीको रणनीति, नीति र विधायिक प्रक्रियामा सक्रिय सहभागिताका लागि कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाइने भएको हो। कार्यक्रम अन्तर्गत सांसदहरूलाई संसदमा बहस, समिति कार्य, विधेयक निर्माण, प्रस्ताव पेश गर्ने प्रक्रिया र पार्टीमा जिम्मेवारी निर्वाह गर्ने तरिकामा प्रशिक्षण दिइनेछ ।
पार्टीका अधिकारीहरूका अनुसार अभिमुखीकरण कार्यक्रमले नयाँ सांसदमा नेतृत्व क्षमता, निर्णय लिन सक्ने दक्षता र कार्यसम्पादनमा एकरूपता विकास गर्ने लक्ष्य राखेको छ । आगामी संसदको बैठकमा रास्वपाका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्न यस प्रशिक्षणलाई निर्णायक रूपमा हेरेको पार्टीको धारणा छ ।