काठमाण्डु – झण्डै दुई तिहाइ बहुमत ल्याएर अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा बलियो उपस्थिति बनाउँदै सरकार गठन प्रक्रियाको गृहकार्यमा जुटेको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जित्दै रास्वपाले दल झण्डै दुईतिहाइ बहुमत ल्याएपछि सरकार निर्माणको चरणमा पुगेको हो ।
रास्वपाको यो परिणामसँगै पार्टीले अघि सारेका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित छ ।स्रोतका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया औपचारिक पाउनेछ ।
आयोगले अहिले दलहरूले बुझाएको समानुपातिक सूचीको नाम रुजु गर्दैछ ।
२०७९ असार ७ गते गठन भएको रास्वपाले तीन वर्षको छोटो समयमा देशकै सबैभन्दा ठूलो पार्टी बनेको हो । २०७९ को निर्वाचनमा रास्वपाले २१ सिटमा जित हासिल गरेको थियो । गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालयका अल्पकालीन जिम्मेवारी पनि पार्टीले सम्हालेको थियो ।
रास्वपाको विजयसँगै अब बन्ने मन्त्रिपरिषद् कस्तो होला भन्ने विषयमा राजनीतिक वृत्त र आमजनताबीच व्यापक चासो देखिएको छ ।
काठमाण्डु महानगरपालिकाको नेतृत्व सम्हाल्दा देखिएको शैलीकै आधारमा प्रधानमन्त्रीका उम्मेखवार बालेनले केन्द्र सरकारमा पनि चुस्त, छरितो, अनुशासित र परिणाममुखी मन्त्रिपरिषद् बनाउने संकेत दिएका छन् ।
मन्त्रिपरिषद् राजनीतिकको अखडा नभई साझा लक्ष्यतर्फ अघि बढ्ने खालको हुनुपर्ने बालेनको चाहना छ । पार्टी स्रोतका अनुसार बाहिरबाट विज्ञ ल्याएर मन्त्री बनाउने विषयमा औपचारिक निर्णय भएको छैन ।
प्रस्तावित प्रधानमन्त्री बालेन्द्रले १२ सदस्यीय मन्त्रिपरिषद् गठनको गृहकार्यमा छन् । रास्वपाको वाचापत्रमा संघीय मन्त्रालयहरूको संख्या १८मा सीमित गर्दै विज्ञ र विशेष मन्त्री बनाउने नयाँ मानक स्थापित गर्ने उल्लेख छ । बालेनले पनि वाचापत्र अनुसार नै आफ्नो टिम बनाउने गृहकार्यमा लागेका छन् ।
विभिन्न क्षेत्रमा दक्ष, अनुभवी र विज्ञ तथा पार्टीबाट निर्वाचित सांसदहरू नै राखेर मन्त्रिपरिषद् गठन गर्ने उनको तयारी छ । उनले चुस्त, छोटो र अनुशासित टिम बनाउने गृहकार्य गरिरहेका छन् ।
रास्वपाबाट चिकित्सक, अभियन्ता, अर्थशास्त्री, कानुनविद्सहित क्षेत्रका अनुभवी व्यक्तिहरू निर्वाचित भएर सांसद भएका हुन् ।
मन्त्रिपरिषद् गठन प्रक्रिया व्यवस्थित बनाउन सम्भावित मन्त्रीहरूको प्रारम्भिक सूची तयार भइरहेको रास्वपाका एक नेताले जानकारी दिए ।
सम्भावित मन्त्रीहरूको सूचीका विषयमा बालेनले सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहित अन्य शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् ।
आगामी मन्त्रिपरिषद् समावेशी बनाउने विषयमा पनि विशेष ध्यान दिइने संकेत देखिएको छ ।
अमरेश कुमार सिंह, सुधन गुरुङ, शिशिर खनाल, डा. स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल, आशिष गजुरेल, सस्मित पोखरेल, पुरुषोत्तम यादवलाई मन्त्री बनाउने तयारी छ ।
मन्त्रीहरूले जिम्मेवारी सम्हालेपछि पहिलो सय दिनभित्र पूरा गर्ने कामको स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने पनि ती नेताले बताए ।
तोकिएको अवधिमा अपेक्षित प्रगति नदेखिएमा जवाफदेही बन्नुपर्ने व्यवस्था राख्ने विषयमा पनि छलफल भइरहेको छ ।