वीरगञ्ज — वीरगञ्जस्थित रोयल एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका–१५ स्थित विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा करिब ५०० जनाले स्वास्थ्य सेवा लिएका छन्।
विद्यालयकी प्रधानाध्यापिका विजया ओझैयाका अनुसार विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका भाइस प्रिन्सिपल सुमन श्रेष्ठले शिविरमा विद्यार्थी र अभिभावकसहित करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार सामान्य स्वास्थ्य परीक्षणसँगै विभिन्न रोगसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो।
शिविरमा विभिन्न स्वास्थ्य संस्थाका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा दिएका थिए। आशाराम अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दासले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए भने सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामीले आँखा सम्बन्धी परीक्षण तथा परामर्श प्रदान गरेका थिए। साथै, रुंगटा वेलफेयरका तर्फबाट नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शलेष्मा रिजालसहितको टोलीले सम्बन्धित रोगहरूको परीक्षण तथा उपचारसम्बन्धी सुझाव दिएको थियो।
शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र स्वास्थ्य सचेतना सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विशेषगरी बालबालिकाको स्वास्थ्य अवस्थाबारे अभिभावकलाई सचेत गराउनुका साथै समयमै रोग पहिचान गरी उपचारको अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
रोयल एकेडेमीकी कार्यकारी निर्देशक सबनम श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।