यस वर्षको चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ।
पञ्चमी तिथिका दिन सोमवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रतमा रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन्।
चैती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ। छठ पर्व शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइन्छ।
व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरे अर्ग ’ सम्पन्न गरेका हुन्। ‘भोरे अर्ग ’ गरिएसँगै छठ पर्व समापन भएको छ। छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरे अर्ग ’ 'बिहनिया अर्ग ' भनिंन्छ ।
व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत आइतबार चैत शुक्ल चौथीका दिन ‘नहाए–खाए’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए। यसैगरी छठमा व्रतालुले गत सोमवार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो मंगलवार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘संझीया अर्ग ' सम्पन्न गरेका थिए।
आज बिहान अर्घ दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन्। पर्व सकिएसँगै घरघरै प्रसाद खाने-खुवाउने क्रम सुरु भएको छ।
छठको प्रसाद मानिने ठेकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी-चेली (छोरी, दिदीबहिनी, फुपू), मित-मितिनी र अन्य इष्टजनको घर पठाउने परम्परा छ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।