वीरगन्ज १४ चैत - पन्च परिवर्तन राष्ट्र निर्माणको आधार' भन्ने मूल नाराका साथ वीरगन्जमा हिन्दू सम्मेलन सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवेले विद्यालय स्तरबाट नैतिक शिक्षा हटाइएका कारण समाजमा विकृति बढेको बताउनुभयो। "नैतिक शिक्षाको अभावमा पञ्च परिवर्तनका मुख्य सूचकहरू- सामाजिक समरसता, कुटुम्ब प्रबोधन, वातावरण, स्वदेशी र नागरिक कर्तव्य- आजको पुस्ताले सिक्न पाएका छैनन्," डा. दुवेले भन्नुभयो। उहाँले हामी स्वयंले नैतिक आचरण पालना गरे मात्र आउने सन्ततिले त्यसको अनुसरण गर्ने कुरामा जोड दिनुभयो।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि एवं हिन्दू राष्ट्र स्वाभिमान जागरण पर्साका सदस्य धनन्जय मिश्रले हिन्दू धर्मको उदारता र सहिष्णुताको चर्चा गर्नुभयो।
उहाँले हिन्दूहरूले गीतासँगै अन्य धर्मग्रन्थको पनि सम्मान गर्ने र मन्दिरका साथै मस्जिद, गुरुद्वारा र गुम्बा समेत जाने परम्परा रहेको बताउनुभयो। "संसारको कुनै पनि धर्मले यस्तो उदारता सिकाउँदैन, त्यसैले हाम्रो धर्म संसारकै उत्तम धर्म हो," मिश्रले दाबी गर्नुभयो।
सहभागिता
कार्यक्रममा वीरगन्जका प्रतिष्ठित उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्र निर्माणका लागि आध्यात्मिक र नैतिक जागरण अपरिहार्य रहेको कुरामा ऐक्यबद्धता जनाएका थिए।