वीरगञ्ज, पर्सा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला कमिटीले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको कडा विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक विरोधपत्र बुझाएको छ।
एमाले पर्साले उक्त गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी” भन्दै निन्दा, भर्त्सना र कडा विरोध जनाएको छ। पार्टीले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र नागरिक स्वतन्त्रताको मर्मविपरीत भएको आरोप लगाउँदै दुवै नेताको तत्काल रिहाइको माग गरेको छ।
विरोध प्रदर्शनलाई थप सशक्त बनाउन एमालेले वीरगञ्जमा मोटरसाइकल र्याली समेत आयोजना गरेको थियो।
“प्रतिशोध बन्द गर, के.पी. शर्मा ओलीलाई रिहा गर!”
भन्ने नारासहित निकालिएको उक्त र्याली घण्टाघर क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
जिल्ला अध्यक्ष डा. विश्वम्भर कुमार शर्माको नेतृत्वमा आयोजित उक्त कार्यक्रममार्फत प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई विरोधपत्र हस्तान्तरण गरिएको हो। कार्यक्रममा पार्टीका जिल्ला तहका शीर्ष नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विरोधपत्रमा उल्लेख गरिएअनुसार, यही चैत १४ गते सूर्योदय अगावै गरिएको गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित भएको ठहर गरिएको छ। एमाले पर्साले यस्तो कार्यले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र विधिको शासनप्रति जनविश्वास घटाउने चेतावनी दिएको छ।
त्यसैगरी, पार्टीले गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति रहेको पुनः दोहोर्याएको छ। उक्त आयोगको प्रतिवेदनलाई एमालेले “पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीत” रहेको आरोप लगाएको छ।
एमालेले सर्वोच्च अदालतबाट समेत उक्त आयोगमाथि गम्भीर प्रश्न उठाइएको स्मरण गराउँदै निष्पक्ष छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टीले राजनीतिक आस्थाका आधारमा गरिने कारबाही तत्काल बन्द गर्न, विधिसम्मत प्रक्रिया अवलम्बन गर्न र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई सचेत गराएको छ।
एमालेका अनुसार, यो कार्यक्रम देशव्यापी अभियानअन्तर्गत सञ्चालन गरिएको हो र देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा एकैसाथ विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। पर्सामा सम्पन्न कार्यक्रम त्यसै अभियानको एक हिस्सा रहेको जनाइएको छ।
अन्त्यमा, एमाले पर्साले यदि मागहरू सम्बोधन नगरिएमा थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।