एजेन्सी । भारतका प्रधानमन्त्री Narendra Modi को नर्वे भ्रमणका क्रममा त्यहाँको एक प्रतिष्ठित पत्रिकामा प्रकाशित कार्टुनलाई लिएर भारतमा तीव्र प्रतिक्रिया देखिएको छ । कार्टुनलाई कतिपयले ‘नस्लवादी’ र ‘औपनिवेशिक सोचको निरन्तरता’ भन्दै आलोचना गरेका छन् ।
नर्वेको चर्चित दैनिक Aftenposten ले मोदीको भ्रमणका क्रममा उनलाई ‘सपेरे’ अर्थात् सर्प खेलाउने व्यक्तिको रूपमा चित्रित गर्दै कार्टुन प्रकाशित गरेको थियो । कार्टुनमा पेट्रोल पम्पको पाइपलाई सर्पको स्वरूपमा देखाइएको थियो । उक्त कार्टुनसँगै प्रकाशित टिप्पणी लेखको शीर्षक थियो– ‘एक चतुर र केही झर्कोलाग्दो मानिस ।’
यो कार्टुन सार्वजनिक भएपछि विशेषगरी भारतमा सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया आएको छ । धेरै प्रयोगकर्ताले यसलाई भारतप्रति पश्चिमी सञ्चारमाध्यमले लामो समयदेखि गर्दै आएको ‘पूर्वाग्रही चित्रण’ को निरन्तरता भएको बताएका छन् ।
वरिष्ठ पत्रकार Aditya Raj Kaul ले सामाजिक सञ्जाल एक्समा लेख्दै नर्वेको सबैभन्दा ठूलो पत्रिकाले भारतका प्रधानमन्त्रीलाई सपेरेको रूपमा चित्रित गर्नु ‘चकित पार्ने, नस्लवादी र अपमानजनक’ भएको टिप्पणी गरेका छन् । उनले भारतको उदीयमान शक्ति र सफलतालाई कतिपय पश्चिमी वृत्तले स्वीकार गर्न नसकेको आरोप लगाए ।
त्यस्तै चीन मामिलाका जानकार तथा पत्रकार Ananth Krishnan ले यस्तो कार्टुनलाई उच्च पत्रकारिता मान्यताको उदाहरण मान्न नसकिने बताएका छन् । पत्रकार Shashank Mattoo लगायत अन्य टिप्पणीकारहरूले पनि उक्त कार्टुनमाथि प्रश्न उठाएका छन् ।
उक्त लेखका लेखक फ्रांक रोजेविकले भने मोदीको विदेश नीतिलाई ‘व्यावहारिक’ र ‘हितकेन्द्रित’ भन्दै विश्लेषण गरेका छन् । लेखमा भारतलाई व्यापार, प्रविधि, ऊर्जा र रणनीतिक साझेदारीमा विश्वव्यापी रूपमा प्रभाव विस्तार गरिरहेको उदीयमान शक्तिका रूपमा चित्रण गरिएको छ ।
लेखमा नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड र आइसल्याण्डजस्ता नर्डिक देशहरूसँग भारतको सहकार्य हरित प्रविधि, डिजिटलीकरण तथा आर्कटिक क्षेत्रका अवसरका कारण महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरिएको छ ।
यद्यपि, भारतको रूससँगको सम्बन्ध तथा प्रेस स्वतन्त्रताको अवस्थाबारे पश्चिमी देशहरूमा उठ्ने आलोचनासमेत लेखमा समेटिएको छ । समग्रमा लेखले मोदीको विदेश नीतिलाई वैचारिकभन्दा पनि रणनीतिक र राष्ट्रिय हितमा आधारित नीतिका रूपमा व्याख्या गरेको देखिन्छ ।
यसैबीच, मोदीको नर्वे भ्रमणका क्रममा अर्को घटना पनि चर्चामा रह्यो । नर्वेली पत्रकार Helle Linge ले पत्रकार सम्मेलनपछि मोदीसँग “विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसका प्रश्न किन नलिनुभएको?” भनेर प्रश्न गरेकी थिइन् । तर मोदीले त्यसको जवाफ नदिई अघि बढेका थिए ।
पछि पत्रकार लिङ्गेले सामाजिक सञ्जालमा भिडियो साझा गर्दै नर्वे विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा पहिलो स्थानमा रहेको र भारत १५७औँ स्थानमा रहेको उल्लेख गरेकी थिइन् ।
यस घटनापछि भारतमा विपक्षी नेताहरूले मोदीको आलोचना गरेका थिए । Rahul Gandhi र Mahua Moitra लगायतले प्रधानमन्त्री प्रश्नबाट बच्न खोजेको आरोप लगाए भने भारतीय जनता पार्टीका आईटी विभाग प्रमुख Amit Malviya ले पत्रकारका टिप्पणीलाई ‘आधारहीन’ बताएका छन् ।