अमेरिकाको मध्यस्थतामा लेबनान र इजरायलबीच ४५ दिने युद्धविराम थप गर्ने सहमति भएको एक साता नबित्दै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा परी अन्य २९ जना घाइते भएका छन्।
युद्धविराम कायम रहेको भनिए तापनि इजरायली सेना र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीच दक्षिणी लेबनान क्षेत्रमा निरन्तर भिडन्त तथा गोली हानाहान भइरहेको छ।
लेबनानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दक्षिणी लेबनानको डेइर कानौन शहरमा भएको आक्रमणमा तीन बालबालिका र तीन महिलासहित १० जनाको एकै ठाउँमा मृत्यु भएको छ। यसबाहेक नाबाटिएह र टायर जिल्लामा भएका अन्य आक्रमणहरूमा थप नौ जनाले ज्यान गुमाएका छन्।
इजरायलले आफ्ना सैन्य कारबाहीहरू हिजबुल्लाहका ठेगानाहरूलाई मात्र लक्षित गरेर चालिएको दाबी गर्दै आएको भए तापनि यी आक्रमणहरूमा महिला र बालबालिकासहित सर्वसाधारण नागरिकहरू मारिने क्रम रोकिएको छैन।
यसैबीच, हिजबुल्लाहले पनि उत्तरी इजरायलका बस्तीहरू तथा दक्षिणी लेबनानमा तैनाथ इजरायली सैन्य टोलीमाथि रकेट र ड्रोन आक्रमण जारी राखेको छ। हिजबुल्लाहको तर्फबाट भएको आक्रमणमा परी मंगलबार एक इजरायली सैनिकको मृत्यु भएको छ।
हिजबुल्लाहले दक्षिणी लेबनानको हद्दाथा नगर क्षेत्रमा इजरायली फौजसँग आफ्नो भिडन्त भइरहेको जनाएको छ। सो समूहले एउटा इजरायली ट्यांक ध्वस्त पारेको र उत्तरी इजरायलको सीमा नजिक रहेको इजरायलको 'आइरन डोम' हवाई प्रतिरक्षा प्रणालीमाथि समेत आक्रमण गरेको दाबी गरेको छ।
गत मार्च २ मा अमेरिका र इजरायलको संयुक्त हमलामा इरानका सर्वोच्च नेता अलि खामेनीसहित शीर्ष नेताहरू मारिएपछि, इरान समर्थित शिया इस्लामवादी समूह हिजबुल्लाहले प्रतिशोधस्वरूप इजरायलमाथि रकेट प्रहार गरेको थियो। सोही घटनापछि लेबनान पनि यस युद्धमा प्रत्यक्ष रूपमा तानिएको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च महिनायता इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको कुल संख्या ३ हजार नाघिसकेको छ।