कठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भलाई लिएर यूएई सरकारले त्यहाँ बस्ने विदेशी नागरिकहरूलाई सचेत गराएको छ । अबुधावी स्थित नेपाली दूतावासले यूएई सरकारलाई उद्धृत गर्दै सो सम्बन्धी फोटो तथा भिडिओ सामाजिक सञ्जालमा राख्दा विचार पुर्याउन त्यहाँ रहेका नेपाली नागरिकहरूको नाममा एड्भाइजरी जारी गरेको हो ।
अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि त्यसको प्रतिकार स्वरूप इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाइरहेको छ । अमेरिकी आक्रमणमा परेर दर्जनौँ इरानीका साथै त्यहाँका सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको मृत्यु भइसकेको छ । यही परिस्थितिका कारण मध्यपूर्वी देशहरू अशान्त बनेका छन् ।
"यूएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमले तस्विर/भिडिओ खिचि पोस्ट नगर्न यूएईमा रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ," एड्भाइजरीमा भनिएको छ ।
यस्ता कार्य कानुन बमोजिम दण्डनीय हुने चेतावनी यूएईको आधिकारिक निकायबाट जारी भएको दूतावासले जनाएको छ । साथै विकसित परिस्थितिको बारे सही जानकारीका लागि यूएईका आधिकारिक निकायहरूले जारी गर्ने अपडेट र सूचना हेर्न समेत सूचित गराइएको छ ।
जसमा यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई मिडिया कार्यालय, अबुधाबी मिडिया कार्यालय र इमिरेट्स न्युज एजेन्सी रहेका छन् । नेपाली दूतावासले सचेत र सूचित रहन तथा जिम्मेवार बन्न समेत अनुरोध गरेको छ ।