रूसले युक्रेनमा चौबीस घन्टाभित्र अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ।
मध्यपूर्वमा जारी तनावबीच रूस-युक्रेन युद्धविरामका लागि कुटनीतिक छलफल कम भइरहँदा रूसबाट चौबीस घन्टाभित्र भएको अहिलेसम्मको ठूलो हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसले विश्वको ध्यान अन्यत्र मोडिएको सन्दर्भमा रूसले युद्धको गतिशीलता बढाएको संकेत गरेको छ।
बिबिसीका अनुसार गएको चौबीस घन्टामा रूसले युक्रेनमा ९४८ वटा ड्रोन प्रहार गरेको छ।
स्थानीय समयअनुसार मंगलबार बिहानदेखि मात्रै ५५६ ड्रोन प्रहार गरिएको युक्रेनी पक्षले जनाएको छ। मंगलबार दिउँसो पनि रूसले युक्रेनमा ड्रोन हानेको थियो। दिउँसोको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बिबिसीले जनाएको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ल्भिभमा १६औं शताब्दीको बर्नार्डिन मठ क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै छिमेकी इभानो-फ्राङ्किभ्स्क क्षेत्रमा रहेको एक प्रसूति अस्पताल पनि आक्रमणमा परेको छ।
यसअघि राति गरिएको छुट्टै आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो। उक्त आक्रमणमा ३९२ ड्रोन र ३४ मिसाइल प्रहार गरिएको युक्रेनले जनाएको छ।
यसरी रूसले चौबीस घन्टाको अवधीमा अहिलेसम्मको धेरै हवाई हतियार प्रयोग गरी हमला गरेको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले भिडियो सम्बोधनमार्फत पछिल्लो आक्रमणको परिमाणले रुसले युद्ध अन्त्य गर्ने कुनै मनसाय नरहेको स्पष्ट देखाएको बताएका छन्। यद्यपि, यसबारे रुसको सेनाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
ल्भिभ क्षेत्रमा सार्वजनिक गरिएको भिडियोमा बर्नार्डिन मठ नजिकैको आवासीय भवनमा आगलागी भएको देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक अर्को भिडियोमा कम उचाइमा उडिरहेको ड्रोनले भवनमा ठोक्किएको दृश्य देखाइएको छ।
ल्भिभ क्षेत्रका प्रमुख मक्सिम कोजित्स्कीका अनुसार उक्त आक्रमणमा ३२ जना घाइते भएका छन्। इभानो-फ्राङ्किभ्स्क सहरमा दुई जनाको मृत्यु हुनुका साथै एक ६ वर्षे बालकसहित चार जना घाइते भएका छन्।
पश्चिमी सहर टेर्नोपिलमा पनि आक्रमण गरिएको भए पनि त्यहाँ मानवीय क्षति नभएको जनाइएको छ। मध्य युक्रेनको विनित्सिया सहरमा भने एक जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
युक्रेनी वायुसेनाले अधिकांश ड्रोन र मिसाइल खसाल्न सफल भएको दाबी गरे पनि देशभर धेरै स्थानमा प्रत्यक्ष प्रहार भएको स्वीकार गरेको छ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता युद्ध निरन्तर जारी छ। पछिल्ला वर्षहरूमा पूर्वी क्षेत्रको तुलनामा पश्चिमी युक्रेन कम प्रभावित भए पनि यसपटक त्यहाँ पनि व्यापक आक्रमण गरिएको छ।
यसैबीच, रुसको कुर्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु र १३ जना घाइते भएको त्यहाँका गभर्नरले बताएका छन्।
अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको प्रयास जारी रहे पनि हालसालैका अन्तर्राष्ट्रिय तनावका कारण वार्ता ठप्पजस्तै बनेको छ।